काठमाडौं । ‘मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी आयोजनाबाट पानी ल्याउन रोकिने भएको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।
अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिने भएको हो । मेलम्ची खानेपानी विकास समितिका एक अधिकारीका अनुसार लगातार वर्षात हुन थाल्नासाथ सुरुङको ढोका बन्द गरिने छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन ।
‘मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं आउँदैन,’ ती अधिकारीले भने,’मेलम्चीको माथिल्लो तटीय क्षेत्रमा रहेको जोखिमका कारण वर्षायाममा सुरुङ बन्द गर्नैपर्छ ।’ १ असार २०७८मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बालुवा थिग्र्याउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासु पौडेल नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको बताउँछन् । उनका अनुसार सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको उनले स्वीकारे । उनले जसरी भएपनि सुरुङलाई सुरक्षित राखिने बताए ।
‘सुरुङमार्गमा बाढीले असर पर्न दिदैँनौ,’ उनले भने,’के–के गर्नुपर्छ, त्यो अवश्यनै गर्छौं ।’ बढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् । मेलम्चीमा बाढी आउन सुरु गरेपछि सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किनुपर्नेछ ।
‘बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिन्छ,’ ती प्राविधिकले भने,’वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिन्छ ।’ आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षत्रे र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।
१ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो ।
ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।
बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।