काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।
नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी गरे । उनले महादेवको कथा सुनाउँदै अब महादेवलाई एकपटक जगाउने बेला भएको बताए । मेयरका उम्मेदवार श्रेष्ठले देशको शासन बाँदरले चलाइरहेको भन्दै अब राज्यमा सुशासन ल्याउन आवश्यक रहेको बताए ।
मेयरका उम्मेदवार श्रेष्ठले भने, ‘हामी हिन्दुहरु भित्र पनि विखण्डन छौँ । महादेव पनि हारेका थिए । अब हारेका महादेवलाई जगाउने बेला भयो । यो कहालीलाग्दो शासन, यो कहालीलाग्दो व्यवस्था, यी राजनीतिक द फोहारी राजनीति गरेर हामीलाई दुःख दिएर हाम्रो देश, राष्ट्र, राष्ट्रियतालाई चिथोरेर जर्जर पारिसकेको अवस्थामा नेपालका राष्ट्रभक्त व्यक्तिहरु पशुपतिनाथको गुहार माग्न जानुभएछ । महादेवसँग उनीहरुले हामी त कस्तो अन्यायमा प¥यौं ? हामीमाथि कृपा होस् भनेपछि महादेवले शासन कसले गरेको छ सोधेर आउनु भन्नुभयो, त्यसको उत्तर सोध्दा पनि नपाएपछि पुनः महादेवसँग शरणमा गएछन् । त्यसपछि महादेवले मेरो गजुरतिर हेर भन्दा त्यहाँ बाँदरले गजुर हल्लाइरहेको देखे । अनि महादेवले यस्तैले शासन गरेका छन् भन्नुभयो । हो अहिले हाम्रोमा पनि त्यही भएको छ । अब हामी सबै मिलेर महादेवलाई जगाउनु पर्छ । अब राज्यमा सुशासन ल्याउनुपर्छ । हिन्दुराज्य स्थापना गर्नुपर्छ । राजसंस्था स्थापना गर्नुपर्छ । राम्रो काम गरेर भविष्यमा आफ्ना सन्ततीलाई राम्रो बनाउने सपना देख्ने हो भने बलिदान दिनुपर्छ । यसका लागि म पनि तयार छु । यो व्यवस्था नराम्रो होइन, हामी यही व्यवस्थामा रहेर राजसंस्थालाई ब्युँताउँछौँ ।’
मेयरका उम्मेदवार श्रेष्ठले भविष्यमा आफ्ना सन्ततीहरुको सपना साकार बनाउनका लागि अहिले बलिदान दिन पनि पछि हट्न नहुने बताए ।