काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको प्रतिस्पर्धी एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने दाबी गरे ।
‘जितमा म त्यति समस्या देख्दिनँ । उहाँको प्रतिपक्षी उम्मेदवार जो हुनुहुन्छ, मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । उहाँ (स्थापित)बारेमा पनि मलाई अलिकति भ्रम थियो । म प्रधानमन्त्री छँदा उहाँले पहिला राम्रै काम गर्नुभएको भनेर काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख पनि बनाएँ । तर उहाँ डेट एक्सपायर्ड औषधि, जुन काम नलाग्ने हुन्छ, जो प्रत्युत्पादक हुन्छ, उनले भने, म जस्तो एउटा उदारवादी, उनलाई निकालेको पनि हो । त्यसो भएकोले पनि उहाँ त अब निर्विकल्प सिर्जनाजी विजयी हुनुहुन्छ भन्ने विश्वास छ । अब जितिसकेपछि गर्ने के भन्ने प्रश्न हो, त्यतापट्टि उहाँको विशेष ध्यान पुगोस् ।’
भट्टराईले आफू पनि काठमाडौं महानगरको मेयरमा उठ्न चाहेको भनाइ दोहोर्याए । उनले यसअघि मेयरमा उठ्छु भन्दा कतिपयले ठट्टा गरेको उल्लेख गरे । उनले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको बताए ।