विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुहबी नगरपालिका–९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।
उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो ।
विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो ।
झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।
उनले थप झडपको अवस्था आउन नदिन दुवै पक्षलाई छलफलमा बोलाएको बताए । ‘सामान्य विवाद भएको हो,’ उनले भने ‘थप विवाद हुन नदिन दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’