logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालमा कोरोनाको जोखिम कायमै, फेरि बढ्न सक्ने यी हुन् कारण

    नेपालमा कोरोनाको जोखिम कायमै, फेरि बढ्न सक्ने यी हुन् कारण

    4.5K
    Shares

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ ।

    पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् । नेपालमा पछिल्ला दिनमा दैनिक सरदर १५ जनासम्म संक्रमित पाइएका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढिरहँदा सहरदेखि गाउँसम्म सामूहिक भेटघाट, सभा, सम्मेलन, घरदैलो कार्यक्रम भइरहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ३० वटा जिल्लामा संक्रिय संक्रमित शून्य छ । ‘सक्रिय संक्रमित उपत्यकामा बढी देखिन्छ,’ उनी भन्छन्, ‘धेरै जनघनत्व भएका ठाउँमा संक्रमित देखिन्छ ।’ नेपालमा संक्रमण दर निकै कम भए पनि जोखिमको त्रास भने कायम रहेको उनी बताउँछन् ।

    उनले भने, ‘छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेको छ । तर नेपालमा अहिले संक्रमण हुने दर कम भए पनि जोखिम उच्च छ ।’

    नेपालमा जोखिम बढ्नुका कारण
    नेपालमा लामो समयदेखि संक्रमण दर स्थिर भए पनि दैनिक १० देखि १५ जनामा संक्रमण पुष्टि हुने गरेको छ । भारतमा संक्रमण बढ्दै गएको अवस्था एकातिर छ भने भारतमै रोजगारीका लागि रहेका नेपालीहरु स्थानीय तह निर्वाचनमा मतदान गर्न आउनेक्रम बढ्दै जाँदा संक्रमणको जोखिम हुने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।

    नेपालमा चुनावको प्रचारप्रसार र आमसभा लगायतका गतिविधिमा जनस्वास्थ्य मापदण्ड पालना नहुँदा पनि संक्रमणको जोखिम बढेको उनले बताए । आम सर्वसाधारणले कोरोना संक्रमण दर कम भएको अवस्थालाई जोखिम नभएको ठानेर चुनावी माहोलमा मास्कको प्रयोगसमेत नगरेको देखिन्छ । जसले गर्दा संक्रमणको जोखिम रहेको उनले बताए ।

    ‘जहाँ मान्छेको भेला हुन्छ, त्यहाँ संक्रमणको जोखिम हुन्छ,’ उनले भने, ‘कोरोनाविरुद्धको खोप नलगाएको ठाउँमा झन् संक्रमणको जोखिम उच्च हुन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend