काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा २८ करोड १६ लाख ८२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा २८ करोड रुपैयाँ बराबरको ४५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।
नेपालबाट विश्वका १० वटा देशमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । जसमध्ये कम्बोडियामा १८ करोड ८८ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
यस्तै, हङकङमा ३ कोड ६९ लाख रुपैयाँको र सिंगापुरमा ८० लाख रुपैयाँको निर्यात भएको छ । यसैगरी, दक्षिण कोरियामा ६६ लाख रुपैयाँ र फ्रान्समा ६२ लाख रुपैयाँको निर्यात भएको विभागले जानकारी दिएको छ ।
यसैगरी, रसिया, युक्रेन, थाइल्याण्ड, बेलायत र भियतनाममा समेत निर्यात हुने गरेको छ ।