काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रुपान्तरणमा यसको भूमिका छ भन्ने पाठक वर्गमा विश्वास दिलाउन आग्रह गरे ।
सञ्चारमन्त्री कार्कीले गोरखापत्र सरकारको पत्रिका नभई नेपाली जनताको पत्रिकाको रुपमा कसरी विकसित गर्न सकिन्छ, त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी छ भने । उनले भने, “गोरखापत्रलाई स्मार्ट यात्रामा लैजाने भनिएको छ । स्मार्ट यात्रा प्रकाशकीयमा लेखेर, भाषण गरेर र दस्तावेज बनाएर मात्रै पूरा हुदैन । त्यसलाई व्यावहारिक रुपमा उतार्न सरकार साथमा छ, कर्मचारीहरु जिम्मेवारपूर्वक लाग्नुस् ।”
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले पत्रकारिता जगतको समस्या र अवसरबारे वर्तमान सरकार सजग र जानकार रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निष्ठापूर्वक र दृढताका साथ रक्षा गर्न यसको पक्षमा उभिने विश्वास व्यक्त गरे ।
उनले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एशियाकै उत्कृष्ट रुपमा विकसित र मर्यादित गर्न सबै पत्रकारहरुलाई आग्रह गरे । देशकै पहिलो अखबर गोरखापत्र पत्रिकामा मात्र नभएर एउटा गौरवशाली संस्था पनि रहेको भन्दै मन्त्री कार्कीले अब गोरखापत्रलाई कसरी अघि बढाउने भन्ने विषयको बहस प्रारम्भ भएको उल्लेख गरे । “एशियामा विरलै पाइन्छ । यति लामो समयसम्म अभिछिन्न रुपले निरन्तर प्रकाशित हुने गोरखापत्र । गोरखापत्र गौरवको संस्थामात्र नभई यो प्रतिष्ठानको पाठशालाको रुपमा समाजले बुझेको छ । समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रुपमा समाजले स्वीकारेको र इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तै अटल उभिएको छ”, उनले भने ।
सञ्चारमन्त्री कार्कीले नियन्त्रित समाज र खुला समाज दुवैको साक्षी बनेको गोरखापत्रले आफ्नो लामो कालखण्डमा धेरै आरोहअवरोह पार गरेको चर्चा गर्दै गोरखापत्र नेपालको राजीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको एक साक्षी हो भने ।