चितवन । चितवनका अनिल परियारको हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो ।
छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
कांग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । प्रारम्भिक अनुसन्धानबाट हत्या चुनावसँग सम्बन्धित नदेखिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले भने,‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’ परियार ज्यान मार्ने उद्योग मुद्दामा जेल बसेर गत वर्ष रिहा भएका थिए ।