काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसहित माओवादी परित्याग गरेर २४ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमाले काठमाडौंका सचिव राजेश शाक्यले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । यसअघि वडा नम्बर १३ र १५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका थिए ।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।