काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष ओलीले पटक पटक संविधान र व्यवस्था माथि प्रहार गरेको बताएका छन् । उनले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नु पर्ने बाध्यता रहेको बताए । काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिने उनले स्पष्ट पारे ।
सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे।
‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुख उम्मेदवार छ ।