काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् ।
सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेदवार चिन्तन नेकपा एमालेको साथ पाएका जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङलाई पाखा लगाउँदै प्रमुखमा विजयी भएका हुन् । चिन्तनले ६ हजार ७२ मत पाउँदा गुरूङले ५ हजार ७१७ मत पाए ।
निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले भने ४ हजार ९९७ मत मात्रै पाए ।
त्यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी उम्मेदवार बन्दना पाण्डे ५५७९ मतसहित उपप्रमुखमा निर्वाचित भएकी छन् ।
कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् भने जसपा-एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले जम्मा ४ हजार २८१ मत ल्याइन् ।