काठमाडौं । एक सुन्दरी प्रतियोगिता आयोजकले बेहोस हुने पेय पदार्थ खवाएर बलात्कार गरेको घटनाले सामाजिक सञ्जालमा तहलका मच्चिएको छ । मिस ग्लोबल इन्टरनेसनल –२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक घटनाले यतिबेला सामाजिक सञ्जालमा रङगीएको छ ।
उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन् । मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन् ।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच–छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए । एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए । ‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो । म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ’अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे ।’
यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन् । बीचबीचमा आफू ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन् । बिहान घर जाने बेलामा ती व्यक्तिले ’यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन् । त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन् ।
पाण्डे थरका ती कन्सल्टेन्सी सञ्चालकले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन् । उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन् । ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन् ।
आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन् ।
यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन् । उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान, एक्लै नजान पनि सुझाव दिएकी छन् ।
आफूसँग भएका सबै प्रमाण आफूले धेरैपछि डिलिट गरिदिएकाले आफूलाई बलात्कार गर्ने ती व्यक्तिको थर मात्रै सार्वजनिक गरेको उनले भिडिओमा बताएकी छन् । यो घटनाबारे थाहा भएर पनि धेरैले आफूलाई सहयोग नगरेको उनले भिडिओमा भनेकी छन् । आफूमाथि भएको बलात्कारबारे बताउँदा एक पूर्व मिस नेपालले ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको युवतीले बताएकी छन् ।