काठमाडौं । आइतबार बिहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको पुष्टि भएपनि मौसमका कारण सुरक्षा निकाय दुर्घटनास्थलमा अझै पुग्न सकेको छैन ।
सुरक्षा निकाय भन्दा अगावै स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली भने घटनास्थलमा पुगेको छ । शेरचनका अनुसार विमान क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् ।
‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’
उनी राति नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।