काठमाडौं । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’
विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।
विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।
काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं.२, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।