काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका ४ डम्पीमा भासिएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
बिहान ५ बजे सडक भासिएर मस्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन अबरुद्ध भएको छ । सडक भासिएपछि सवारी साधनलाई पोखरा र मुग्लिङमै रोक्न लगाइएको छ ।
सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिङतर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल खसी मस्याङदी नदिको खोचमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।