चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
बागमती ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज हुन समय लाग्ने जनाइएको छ ।