काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका– ७ स्थित त्रिशुली थ्रि ए को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। शनिबार बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका– १३ घलेगाउँका ४४ वर्षीय माइला बिकको साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उद्धार गरेको हो ।
मानसिक रूपमा अस्वस्थ रहेका बिक शनिबार बिहानै परिवारसँग झगडा गरेर प्रशारण लाइनमा चढेका थिए । उनलाई तारबाट झार्न स्थानीय वासिन्दा र नेपाल प्रहरीले प्रयास गरेपनि सकेनन् । माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द भयो । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्धार गर्न निर्देशन दिइन् । त्यसलगतै सेनाको उद्दार टोली लिएर हेलिकप्टर ककनीतर्फ उडेको थियो। अन्ततः सेनाको उद्दार टोलीले सकुशल उद्दार गरेर प्रहरीको जिम्मा लगाइएको हो ।
शनिबार बिहानदेखि सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध भएको थियो । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव देशभर परेको छ । माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नुपर्यो । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएपछि भारतबाट पनि बिजुली ल्याएर माग धानिएको थियो ।