काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झांैता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गरेका छन् । सांसद सुवालले सो सम्झौंता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गरे ।
आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे । सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उनको भनाई थियो ।
सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो । सर्वसाधारण जनता महंगीको मारमा परे । एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो । यसको प्रमाण हामी दिन सक्छौं । अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो । यसैकारण महंगी बढेको हो । मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तराष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाई मूल्यमा तेल, ग्याँस उपलब्ध गरायो । खै, नेपालको कूटनीति ? तेल र ग्याँस भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ । नेपालमा तेल र ग्याँसको मूल्य आकाशियो । देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई पनि रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई भन्दा कम मूल्यमा दिने थियो । यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’
सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहोर्याए ।