काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताईन् ।
उनले काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिदैँ मन्त्रालयको सोच के छ भन्ने प्रश्न गरे । उनले फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिने पनि बताईन् । उनले भनिन्– ‘काठमाडौं उपत्यकाको घर घरबाट प्रतिदिन १२ सय टन फोहोर निस्किन्छ । जसलाई करिब १५० ट्रिपरले ल्याण्डफिल साइटमा डम्पिङ गर्नुपर्ने हुन्छ । म माननीय मन्त्रीजीलाई सोध्न चाहान्छु, के बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्र समस्या समाधान होला ? यसको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्ने मन्त्रालयको सोच छ कि छैन ? विगत १७ वर्षदेखि सरकारको अत्याचारका कारण सिसडोलबासी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन् । यस्ता समस्या बञ्चरेडाँडाँका जनतामा दोहोरिन नदिन सरकारले आगामी वर्ष के–कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको योजना छ जानकारीको लागि अनुरोध गर्दछु । फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिन्छ ।’