काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुनै नसक्ने बताएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र प्रतिष्ठा कमजोर पार्छ भने त्यो पार्टीको नेता कार्यकर्ता केही पनि होइन’, ओलीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको एमालेमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला पार्टीलाई एकढिक्का र एक तालले हिँडाउनुपर्ने आवश्यकता रहेको बताए । ‘समाजवादको गन्तव्यमा पुग्न रोक्नेलाई पराजय गर्नुपर्छ । अहिले स्पष्ट भैसक्यो एमालेबाहेक अरु कुनै शक्ति छैन यो अभिभारा पुरा गर्ने’, उनले भने ।
उनले समाजवाद भन्ने कुरालाई सहज ढंगले बुझ्नुपर्ने पनि बताए । ‘नेपालमा समाजवाद भनेको सम्मृद्ध नेपाल सुखी नेपाली हो । यसमा पुग्न हामीले सम्पूर्ण प्रयास गरिरहेका छौ । हामीलाई पार्टी किन चाहियो भन्दा समाजवादसम्म पुग्न चाहियो’, ओलीले समाजवादको गन्तव्यमा पुग्न सहि नीति र विचार चाहिने भएकाले ती नीति लिएर अघि बढ्ने संस्था एमालेबाहेक अरु कोही नभएको दावी गरे ।