काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको निर्णयलाई बेवास्ता गर्नुमा माओवादी अध्यक्ष प्रचण्डको हात रहेको आरोप लगाएका छन् । काठमाडौंमा जारी पोलिटव्युरो बैठककै क्रममा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
चौधरीले सत्ता गठबन्धनको एउटा दलको सिफारिस कार्यान्वयन नहुने हो भने गठबन्धनमा बस्नुको औचित्य नहुने बताए । उनले कि त नेकपा एस चाहिँदैन भनेर प्रधानमन्त्रीले भन्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई प्रचण्डले प्रभावित पारेको चौधरीको दाबी छ । नेकपा एसले मन्त्री हेरफेर गरेपछि माओवादीमा पनि फेर्न दबाब पर्ने भएकाले प्रचण्डले प्रधानमन्त्रीलाई प्रभावमा पारेर रोकेको आरोप लगाए ।