काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मआलोचना गर्न तयार रहेको बताए ।
‘गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ, ती नदोहोरियोस् भन्नेमा सजग हुनुपर्छ भन्नु भएको छ ।’
उनले आफ्ना पार्टीका नेताहरुले पनि गठबन्धन गरेर जानुपर्ने धारणा राखेको भन्दै यसको अझै आवश्यकता रहेको बताए।