धनकुटा । धनकुटा नगरपालिका–६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रालिको क्षेत्रभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएका स्थानीय दिल बहादुर राईको १४ बर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका–५ का विजय राईको १५ वर्षीय छोरा सोनिम राई पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए।
घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।