काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गरेका छन् । बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरिक्रयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
सञ्चारमाध्यमहरुलाई आवश्यक मानक दिन नसक्दा कतिपय स्थानमा भने त्रुटी भइरहेको उल्लेख गरे । उनले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरु अंग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताए । अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यक भन्दा बढी स्थान दिइराखिएको बताए । उनले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाए । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझैपनि राज्य बेखबर रहेको भन्दै राज्यको उदासिनताका कारण भाषामा विकृति आइरहेको बताए । भाषा एउटाको विकल्पमा अर्को आउने कुरा नहुने उल्लेख गर्दै नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि दैजान आवश्यक रहेको बताए । उहाँले आयातित भाषाका कारण नेपाली भाषा ओझेलमा परिरहेको बताउनु भयो । अध्यक्ष अवस्थीले भाषाको निरन्तरता र भाषाको जीवन समयोजन भएपछि मात्रै नेपाली भाषा सही रुपमा अघि बढ्नसक्ने उल्लेख गरे ।
अध्यक्ष अवस्थीले भने, ‘ हामी सञ्चार जगतले भाषा बिगारेको छ भन्छौँ , सञ्चारजगत भनको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो, तर हामीले सञ्चारजगतको लागि चाहिने मानक दिन सकेका छैनौँ । अहिले भइरहेको प्रयासले पुगेको छैन । सञ्चारमाध्ययमा पनि यसको विचार हुन आवश्यक छ । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझैपनि राज्य बेखबर छ । सरकारले भाषालाई सम्मान गर्न सकेको छैन । नेपाली भाषा लगायतका नेपाल उत्पत्तिका भाषाहरु छन् । ती ओझेलमा पर्दैजाने आयातित भाषा, खास गरेर अंग्रेजीले स्थान लिनेकुरा हाम्रो लागि अफ्ठ्यारो देखिन्छ । अंग्रेजी भनेको संविधानले नचिनेको भाषा हो । तर प्रयोग र विश्वव्यापी सम्पर्कको हिसावले आफ्नो ठाउँ ग्रहण ग¥यो त्यसमा कुनै आपत्ति भएन । तर त्यसलाई दिएको स्थान कहिले काहीँ हामीले अलिबढी गरिरहेका छौँ कि, आफ्नो भाषालाई कम आँकलन गर्ने, आयातित भाषालाई बढी स्थान दिएको हो कि भन्ने अनुभुति भएको छ । तर किन यस्तो भयो भन्नेकुराको केही उत्तर भने खोज्नुपर्छ । किन हामी अंग्रेजीको मोहमा प¥यौं । हाम्रो नेपालका टेलिभिजनका रेडियोका धेरैजसो शीर्षक अंग्रेजीमा हुन्छन् । मैले उत्तर पाएको छैन त्यसको । भाषा भनेको एउटाको विकल्पमा अर्को लिनेकुरा होइन । भाषा भनेको राष्ट्र, राष्ट्रियता र संस्कृतिको रक्षाकवच हो । रक्षाकवच यदी कमजोर हुन्छ भने त्यहाँभित्र अरुकुरा पस्नु स्वभाविक हो । रक्षा गर्नेकुरा नै यो राज्यले पाएन भने अनपेक्षित कुरा हुनसक्छन् । भाषाको मूल नै क्षय भयो भने शाखा पनि हुँदैन र पत्र पनि हुँदैन । भाषामा राज्यप्रणाली उदासीन हुनु भनेको दुःख लाग्दो कुरा हो ।’
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी नरहेको उल्लेख गरे । उनले आजभन्दा ४० वर्षअघि नै संस्कृबाट आएका शब्द बाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताए । सदस्यसचिव उपाध्यायले नेपालीमा ८० प्रतिशत भन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रुपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले अब आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी छ भन्ने मलाई लाग्दैन । नेपालीमा ८० प्रतिशत भन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएका छन्, त्यसलाई हामीले तत्सम शब्दका रुपमा स्वीकारीसकेका छौँ । स्वीकार गरेको ४० वर्षभन्दा बढी भइसक्यो । तत्सम शब्दलाई तत्सम संस्कृतकै अनुसार लेखौँ । दशको श पातलो लेख्ने छुट हामीलाई छैन ।’
सदस्यसचिव उपाध्यायले हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभूवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरुले एउटै भाषा प्रयोग गर्ने गरेर शैली पुस्तक बनाउनु पर्ने बताए ।