काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापश्चाद् संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।
उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ति नगरेको दोहो¥याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए । अर्थमन्त्री शर्र्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्माविश्वास प्रष्ट हुने बताए । उनले स्थापित मूल्य,मान्यता,विधि, पद्धतीका आधारमा बजेट प्रश्तुत र निर्माण गरेको उल्लेख गरे ।
उनले भने,‘ मैले केही गल्ति गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनता समक्ष आउँछ । मैले गरेको आत्माविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ । छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न,सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ति गरेको छैन । स्थापित मूल्य,विधि, पद्धतीका आधारमा बजेट प्रश्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे ।