बाँके । बाँकेका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा विचल्लीमा परेका छन्। लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन्। एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन्।
ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ। अध्ययन अनुसार नेपालमा करिब २२ लाख मानिसहरूले कर्जा लिएका छन्। २२ लाख मध्ये ७५ प्रतिशत मानिसहरूले कर्जा समयमा तिर्न सकेका छैनन्।
सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरूको गुनासो छ। सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो ब्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीले बताइन्।
सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उनको भनाइ छ। पहिला लघुवित्तहरूले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरिन्।
ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा बसोवास गर्ने मनिषा तामाङले बताइन्। केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ, बीमा छ, किन बाँच्ने? जस्ता अव्यवहारिक लाञ्छना लगाइ भनेर धम्की दिने गरेको उनले बताइन्।
घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तिय संस्था खारेज गर्नुपर्ने उनको माग छ। बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकोले मनमा अनेक कुराहरू खेल्ने गरेको तामाङले बताइन्।
पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन्। लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले गुनासो पोखिन्। ‘घरमा ऋण माग्न आउनेबित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेका छन्’, उनले भनिन्। उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको बताइन्।
त्यस्तै पीडित दरमरीम भुइहारले लघुवित्तहरूले ऋण दिने बेला आर्थिक स्थिति र अवस्थासमेत नहेरी दिने गरेको र घरमा अकास्मिक समस्या आएर ऋण तिर्न केही समय लाग्यो भन्दैमा दिनदिनै दबाब दिनु उचित नभएको बताइन्। लघुवित्तका कर्मचारीले समस्या नबुझी अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ। घरको अवस्था सुधार्न र कर्जाको किस्ता तिर्नका लागि होटलमा भाडाँ धुने काम गरिरहे पनि किस्ताको व्यवस्था गर्न नसकेको गुनासो गरिन्।
त्यस्तै पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरुको भन्दा फरक छैन। घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी नभएपछि लघुवित्तले समस्या दिन थालेको उनले बताइन्। साथै कोरोना भाइरसको कारणले मुलुक लकडाउन भएपछि झनै ऋणमा फसेको उनको भनाइ छ।
‘बचाैं, बचाऔं र अघि बढौं’ भन्ने मूल नाराका साथ लघुवित्तीय संस्थाहरूको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए। नेपालमा करिब ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तीय संस्थाहरूको विरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताए। लघुवित्तका ऋणले गर्दा घरवारविहीन बनाएको र लघुवित्तिय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताए।
लघुवित्तीय संस्था बिरुद्ध लघुवित्त पीडित महिलाहरूले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरूले सरकारसँग माग राखेका छन्।