काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।
२०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो ।
चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।
नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी मुद्रा भित्रिनै कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।
रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।
चालु वर्षको ११ महिनामा चालु खाता घाटा पनि थप बढेर गएको छ। यो अवधिमा चालु खाता घाटा पाँच खर्ब ९५ अर्ब ७३ करोड पुगेको हो।
समीक्षा अवधिमा चालु खाता रु।५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु।२ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता घाटा २ खर्ब ९८ अर्ब ११ करोड थियो। तर अर्थतन्त्रका सूचकांकहरु बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।