काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोमवार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो बताए का हुन् ।
मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गरे । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ । यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । ‘वल्र्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ । मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताए ।
मन्त्री श्रेष्ठले भने, ‘यो सबै नेपालीहरुको लागि खुशीको विषय हो । विश्वका सबैभन्दा धेरै उचाईमा होटल रहेको भन्ने गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा रहेको कुरा छ । यसले नेपाललाई चिनाउने विभिन्न बयानमध्ये अर्को एउटा बयानको रुपमा होटेल रहनसक्नेछ भन्ने मलाई लागेको छ । पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ । केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने एजेण्डाहरु घोषणा गर्नेछौँ ।’
एभरेष्ट इन प्राइभेट लिमिटेड होटल ५ हजार १ सय ८० मिटरको उचाईमा बनाइएको छ । यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो । यो होटल ३ हजार ८८० मिटरको उचाईमा अवस्थित थियो ।