काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेकी छन् । बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिशंखेले गभर्नर अधिकारीको विषय उठाएकी हुन् ।
उनले नेकपा एमालेको अन्तरपार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरिएका व्यक्ति नै भएको भन्दै छानबिन हुनुपर्ने बताउनु भयो उहाँले यो राष्ट्र बैंकको ऐन विपरित भएको बताइन् ।
उनले भनिन्,‘ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेका नेता । महाप्रसाद अधिकारी र एम अधिकारी खोटाङ हाल ललितपुर बस्ने व्यक्ति एउटै रहेको प्रमाण एमालेका खोटाङकै नेता कार्यकर्ता सबै सर्कुलरहरु र प्रमाणहरु यन्त्रतन्त्र छन् । चाहेको खण्डमा त्यसलाई पेस गर्न सकिन्छ । अर्थ तथा योजना विभागमा अन्तरपार्टी निर्देशिकामा एम अधिकारी खोटाङ उल्लेख हुनु कुनै संयोग होइन । राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली अनुसार पनि गभर्नर कुनै पनि पार्टीको कुनै पनि नेता वा पार्टीमा आवद्ध हुन सक्दैन भनेर उल्लेख गरिएको छ । गभर्नर सरकारको मातहतको कर्मचारी हो ।’
त्यस्तै,नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पनि गभर्नर अधिकारी माथि कटाक्ष गरे । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए । थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा , घट्दो विदेशी मुद्रा सञ्चिति,उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यवसायीक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताए । उनले शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२ को नीति ल्याइएपनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको दाबी गरे ।
सांसद थापाले राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि अब त्यो नीति खारेज गर्नुपर्ने र खारेज नभए लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा पुग्ने बताए । उनले यो सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई नभएको बताए ।
उनले भने,‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव चुलिँदो व्यापार घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति,उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ । परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको पैसा सिस्टमा ल्याउने कुरा र केही व्यवसायीक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आट मौद्रिक नीतिले गर्नुपर्छ । शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२को नीति ल्याइयो । यसले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिमाण नआएपछि अब यसलाई परिमार्जन गर्नुपर्छ । यसलाई खारेज गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आइपुग्छन् । मैले गरेको सबै अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई मलाई भनेको हो की भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’
त्यस्तै एमाले सांसद कृष्णभक्त पोखरेलले सत्तापक्षको सांसदहरुले अर्थमन्त्रीको अनैतिक काम लुकाउनको लागि गभर्नरमाथि प्रश्न उठाएको बताए । उनले गभर्नर अधिकार आफैँले यो विषयमा स्पष्टीकरण दिएपछि संसदमा प्रश्न उठाउनुको औचित्य नभएको बताए । सांसद पोखरेलले अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने सत्तापक्षका सांसदहरुको बुझाईप्रति दयाभाव लागेको बताए ।
उनले भने,‘ एम अधिकारी भन्ने व्यक्ति नेकपा एमालेको अर्थ विभागमा रहेको उहाँ राष्ट्र बैंकको गभर्नर भनेर सत्तापक्षका संसदहरुले अर्थमन्त्रीको असक्षम लुकाउनका लागि विषायान्तर गरी मनोगत भावना राखेको देखेर आफैँलाई दयाभाव जागिरहेको छ । स्वयं गभर्नर महाप्रसाद अधिकारीले म कुनै पार्टीमा छैन भनि वक्तव्य दिईसकेको विषय संसदमा प्रश्न उठाउने विषय पनि होइन । अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने मान्य ज्युहरुको बुझाई हो भने त्यो बुझाईमा हाम्रो दयाभाव बाहेक केही रहनसक्दैन । माफियाहरुलाई कर छुट दिन नमाने बापत वा रकम छुट नदिए बापत गभर्नर जस्तो संवेदशील विषयमा गभर्नरलाई निलम्वन गर्ने अनि अहिले आफ्ना सांसदहरुलाई यो विषय संसदमा उठाएर अर्थ मन्त्रालयमा भएको भ्रष्टाचारलाई विषयान्तर गर्ने प्रयास गरिएको छ ।’
सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे । उनले तीन वर्षदेखि कोरोना बीमा भुक्तानी नभएर अहिले सरकार हतियार खरिद गर्न लागेको बताए । उनले नेपालको विदेशी मुद्रा सञ्चिती घटिरहेको सन्दर्भमा हतियार किन्न लालायित हुने तर नागरिकलाई बीमा बापतको रकम भुक्तानी गर्न नसकेको बताए ।
उनले भने,‘नेपालको विदेशी मुद्रा सञ्चिती घटिरहेको सन्र्दभमा हतियार किन्न सरकार लालाहित छ तर कोरोना बीमाको रकम सरकारले अहिलेसम्म भुक्तानी दिनसकेको छैन । त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी सरकारले नदिएर अस्पतालहरु आन्दोलन नै गरिरहेका छन् । यस्तो अवस्थामा सरकारको गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु । तीन वर्षदेखि कोरोना बीमाको रकम तत्काल भुक्तानी गरियोस् । स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गरियोस्।’
त्यस्तै सांसद अमृता थापाले राष्ट्र बैंक ऐन विपरित अमुक पार्टीको कार्यकता राष्ट्र बैंकको गभर्नर भए तुरुन्त छानबिन गर्न माग गरिन् । उनले विश्व राजनीतिक र अर्थतन्त्रको परिस्थितीले अर्थतन्त्रको गम्भिरता चर्चा मात्रै नभएर अत्याश्वयक भएको बताइन् । उनले नेकपा एमालेप्रति लक्षित गर्दै यो वर्षको बजेटमा चक्लेट खानुभन्दा दुध पिउनतिर केन्द्रित भएर आएकाले ठिकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले नाई मलाई त्यही केटी चाहिन्छ भनेझैँ प्रतिपक्षले गरेर अर्थमन्त्री हटाएको बताइन् ।
उनले भनिन्,‘विश्व राजनीतिक र अर्थतन्त्रको परिस्थितीले अर्थतन्त्रको गम्भिरता चर्चा मात्रै नभएर अत्याश्वयक भएको छ । सार्क राष्ट्र मध्येको एक श्रीलंकाले हामीलाई झस्काइरहेको छ । घरमा आर्थिक संकट आईलागे हामी के गर्छौं । फजुल खर्च गर्दैनौं । देशको अर्थतन्त्रमा पनि त्यो आवश्यक छ । यस पालिको बजेमा चक्लेट खानु भन्दा दुध पिउनतिर केन्द्रित भएर आएकाले ठिकै होला भन्ने लाग्दै गर्दा पुलपुलेको छोराले नाई मलाई त्यही केटी चाहिन्छ । भनेझैँ प्रतिपक्षको हठमा अर्थमन्त्री हटाएका हौँ । अर्थतन्त्रको नेतृत्व गर्ने अर्थमन्त्रीको राजीनामापछि वित्तीय अनुशासन लाग्नुपर्ने बेलामा राष्ट्र बैंक ऐन विपरित अमुक पार्टीको कार्यकर्ता राष्ट्र बैंकको गभर्नर भए तुरुन्त छानबिन गरी संविधान र कानूनको रक्षा गर्न सभामुख मार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै सांसद इन्दुकुमारी शर्माले नागरिकता सम्बन्धि समस्या तत्काल हटाउन सरकारसँग माग गरिन् । उनले नेपालको संविधानले कुनैपनि नागरिक नागरिकताको हकबाट बञ्चित गर्ने छैन भनिएको भएपनि वर्षौंदेखि नागरिकता विधेयक पास नहुँदा नेपाल आमाका सन्तानहरु राज्यबिहीन भएर बाचिरहेको बताइन् ।
उनले भनिन्,‘ नेपालको संविधानले कुनैपनि नागरिक नागरिकताको हकबाट बञ्चित गर्नेछैन भनिएको छ तर आज यतिका वर्षसम्म पनि यो विधेयक पास नहुँदा नेपाली आमाका सन्तानहरु राज्यबिहीन भएर बाचिरहेका छन् । नागरिकताको समस्या कुनै भूगोल र क्षेत्रको मात्रै समस्या होइन । यो राज्यको समस्या हो । आज लाखौं युवाहरु उज्वल भविष्यको फैसला हुने थलो संसद भवनतिर हेरीरहेका छन् । उनीहरुको भविष्यमाथि कुठराघात नगरियोस् । अब नेपाली आमाका सन्तानहरु नागरिकताबाट वञ्चित हुन नपरोस् । यो समस्या तत्काल समाधान गरियोस् ।’
सांसद कृष्णगोपाल श्रेष्ठले रिङ रोड सितापाईला चोकदेखि रामकोट हुँदै धादिङ जाने ८ किलोमिटरको राजमार्गको खाल्डाखुल्डी तत्काल पुर्न माग गरे । उनले विगत लामो समयदेखि ८ किलोमिटर सडक, सडक नभएर हिलाम्मे र खाल्डाखुल्डी मात्रै भएर मानिसहरु समेत हिँड्न समस्या रहेको बताए ।
उनले भने,‘रिङ रोड सितापाइला चोकदेखि रामकोट हुँदै धादिङ जाने मार्ग ८ किलोमिटरको छ । ४ किलोमिटर सडक जिर्ण भएर चलेको छ । त्यो बाटो सडक नभएर हिलाम्मे र ठूला ठूला खाल्डैखाल्डो भएको छ । सडकमा गाडी र मान्छेसमेत हिँड्न नसक्ने भएको छ । ठेकेदारको लापरबाही र ढिला सुस्तिका कारण बाटो बाटो नभएर हिलाम्मे भएको छ । सरकारले तत्काल सडकका खाल्डा पुर्ने र ठेकेदारलाई कारबाही गर्न माग गर्दछु ।’
सांसद केदार सिग्देलले आदिकवि भानुभक्त आचार्यले नेपालको नेपाली भाषा र साहित्यको योगदान विकास गर्ने बजेट विनियोजन गर्न माग गरे । उनले आदिकविको योगदानलाई सरकारले कदर गर्न नसकेको दाबी गरे ।
उनले भने,‘ आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो । नेपाली भाषाको माध्यमबाट भानुभक्त आर्चायले भर्खरै एकीकरण भएको नेपाललाई खँदिलो एकतामा रुपान्तरण गर्नको निम्ति महत्वपूर्ण योगदान गर्नुभएको थियो । त्यो बेला संस्कृत भाषामा मात्रै नेपाली साहित्यको प्रचलन थियो । नेपाली भाषा साहित्यमा उहाँले पु¥याएको योगदान अतुलनीय छ । भानु जन्मस्थल विकास समितिको नाममा संघीय सरकार मातहत जन्मस्थल विकास समिति छ । उहाँको योगदानको खोजका निम्ति उल्लेखीय सहयोग गरेको छैन । उहाँको योगदान, साहित्यको विकासको लागि बजेट विनियोजन गर्न माग गर्दछु ।’
त्यस्तै सांसद गजेन्द्र महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताए । उनले दुबै बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागेको टिपप्णी गरे । उनले बा बार्दलीमा बसेर र छोरो राज्यको ढुकुटीमा बसेर देश श्रीलंका बनाउन खोजेको आरोप लगाए ।
उनले भने,‘ मलाई शंका लागिरहेकै थियो । एक जना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइदिऔं भन्दै थिए । एक जना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिऔं भन्दै थिए । यी दुई जनामा नाता पर्छ की जस्तो लागेको थियो मलाई । नभन्दै यिनी बा र छोरा रहेछन् । यी बार्दलीका हनुमान जस्तै पनि लाग्थ्यो मलाई । नभन्दै यी हनुमान पनि रहेछन् । त्रेता युगमा यीनीहरुले श्रीलंका जलाएका थिए । अहिले पनि श्रीलंका जलि रहेको छ । नेपाल पनि जलाउँछन् । जस्तो लागिरहेको छ यिनीहरुले । यिनीहरुलाई बाँधेर राख्नुप¥यो सभामुख महोदय,सरकारलाई भन्नुप¥यो बाधेर राख्नुस् । नत्र यीनीहरुले नेपाल जलाउँछन् ।’
सांसद गणेशकुमार पहाडीले गठबन्धन सरकार गठन भएको एक वर्षमा सबैभन्दा बढी विकृति र भ्रष्टाचार बढेको बताए । उनले वर्तमान सरकारले पेस गरेको राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो भएको बताए ।
उनले भने,‘ यो सरकार गठन भएदेखि एक वर्षमा सबैतिर विकृति बढेको छ । सुशासन कमजोर बन्दैछ । भ्रष्टाचार बढ्दो छ । सरकारले भर्खरै राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक पेस गरेको छ । यो विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो छ । यो विधेयक पास भएमा सविधानमा भएको व्यवस्थालाई संकुचन गर्नेछ ।’
सांसद पहाडीलले गठबन्धनको सरकारले देशमा सुशासन कमजोर र भ्रष्टाचार बढाउने काम मात्रै गरेको आरोप लगाए ।