काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रम क्षेत्रका समस्या समाधान गरि वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताएका छन् । आईतबार आफ्नै मन्त्रालयमा श्रम, रोजगार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् । ‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, मन्त्री कुँवरले भने, ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’
यस्तै उनले स्वदेशमै रोजगार प्रवर्द्धनमा ध्यान दिनुपर्ने पनि बताए । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उनको भनाई छ । नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उनले आफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न पनि आग्रह गरे ।
सरकारले खाडी मुलुक लगायत मलेसियामा जाने श्रमिकलाई फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भए पनि त्यसको राम्रोसँग पालना नभएको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आफू लाग्ने उनको भनाई थियो । यस्तै आफ्नो कार्यकालमा महिला कामदार तथा महिला घरेलु कामदारका विषयलाई पनि प्राथमिकताका साथ हेर्ने जिकिर गरे ।
मन्त्री कुँवरले भारतमा रहेका नेपाली श्रमिकको विषय पेचिलो भएको भन्दै भारतमा नेपाली श्रमिक कहाँ कति छन्, उनीहरुले पैसा कसरी पठाउँछन् भन्नेबारे अझै यकिन आँकडा नभएको उल्लेख गरे । भारतको रोजगारीलाई पनि व्यवस्थित गरिनुपर्ने र त्यसमा पालिका तहको भूमिका हुनुपर्ने उनको भनाई छ ।