नयाँ दिल्ली । भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् ।
केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ ।
कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । “उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए ।
अधिकारीले भने, “‘मङ्कीपक्स’ सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा नरहेका बताइएको छ । प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन भनिएको छ साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेका छन् ।”
मुलुककै पहिलो ‘मङ्कीपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो । तर ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए ।
भारतमा ‘मङ्कीपक्स’को पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मङ्कीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो ।