काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास बताए । सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता खतिवडाले नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भएको भन्दै त्यसको अन्त्य अब कला, संस्कृतको माध्यमबाट गर्नुपर्ने बताए ।
उनले इतिहासबाट राम्रा कुरा सिकेर अघि बढ्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘हामी अहिले पनि एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्नमा लागेका छौँ । हामीले राणाको इतिहास पढ्यौं, कुनै इतिहास पढ्दा एउटाले अर्कोलाई नसकी कोही पनि शक्तिमा गएन । राम्रो काम गरेर होइन, अरुलाई सकेर । त्यो दिमागमा बसिरह्यो । अघि जाऔँ राम्रो गरेर भन्ने ज्ञान नराखि कसरी नराम्रो गरौँ र अघि बढौं भन्ने सोच आयो ।
नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भयो । त्यसको अन्त्य अब कला, संस्कृतको माध्यमबाट गर्नुपर्छ । वि.पि. कोईराला त्यत्तिकै वि.पि. कोईराला हुनुभएको होइन, उहाँमा सबै किसिमका ज्ञान थिए । कृष्णप्रसाद भट्टराईमा त्यस्तै ज्ञान थियो । अहिले त बेलुका एकछिन सँगै बसौँ न भन्ने बिहान सरुवा, बढुवामा जाऔँ न भनेर कहाँबाट मुलुकको विकास हुन्छ । नेपाललाई संस्कृतिप्रिय, सुन्दर नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट होइन, कला र संस्कृतिबाट हो । यसलाई अघि बढाऔँ ।’