काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताएका छन् । शुक्रवार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
उनले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने मौद्रिक नीति कसिलो आएकाले व्यवसायीहरुको लागि सहज नभएको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने बताए । उनले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयको लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीहरुलाई सहज नभए पनि औधोगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताए । उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे । गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा,भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउने बताए ।
उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमीक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने बताए । अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे । उनले पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको बताए । गोल्छाले कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए ।
उनले भने,‘अहिलेको समस्यालाई पार लगाउनको लागि भर्खरै नयाँ मौद्रिक नीति आएको छ । मौद्रिक नीति कसिलो भएको छ । मौद्रिक नीति हामी उद्योगी व्यवसायीहरुको लागि सहज हुँदैन । मौद्रिक नीतिले अहिलको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ । बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ । तर हामीलाई के विश्वास छ भने यो नीति छोटो समयको लागि मात्रै हुन्छ । दीर्घकालिन रुपमा अहिलेको आएको मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विस्वास पनि लिएका छौं । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु धेरै लामो चल्दैन भन्ने विश्वास लिन सकिन्छ । मौद्रिक नीतिले औधोगिक उत्पादनमा बैंक ब्याजदरमा केही छुट दिने कुरा उत्साहजनक रहेको छ । विश्व बंैकको रिर्पोट हेर्दा यसपालिको डलर ट्रममा रेमिट्यान्स ५ प्रतिशतले बढ्ने छ । हाम्रो रेमिट्यान्सको वेस धेरै ठूलो छ । ५ प्रतिशत रेमिट्यान्स बढ्ने हो भने हाम्रो ब्यापार घाटा,भुक्तानी सन्तुलन वा सोधानान्तर स्थितिमा सुधार आउन सक्छ । पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरु नेपालबाट विदेश गइरहेका छन् ।
यो विषय राम्रो होइन तर उहाँहरु नै अर्थतन्त्रका मेरुदण्ड छन् । उनीहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चल्ने हो । विश्वमा नै पेट्रोलिय पदार्थको डलर मूल्य घटदै गएर ८० डलरमा आउने विज्ञहरुले भनेकाले यसले नेपालको व्यापार घाटालाई कम गर्ने सहयोग पुग्नेछ । आयात हुने वस्तु फलाम,खाद्यान्नको मूल्य अन्तर्राष्ट्रिय र रुपमा घटेकाले हाम्रो व्यापार घाटामा केही भएपनि राहत दिनेछ । अहिलेको समस्या हुनेछैन । पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्ने हो भने विदेशी लगानी ७ प्रतिशतले बढेको छ । कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको छ । भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुनेछ । पर्यटकहरुले नेपालमा आएर गर्ने खर्चले नेपालको सोधानान्तर स्थिस्ति सुधार हुन्छ भन्ने आशा छ ।’