काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् । आईतवार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् ।
उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको समेत जानकारी दिए । सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने उनको भनाई थियो ।
मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने बताए । त्यसका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उनको भनाई छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रुपमा सञ्चालन गरिने उल्लेख गरे । मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताए ।