काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गरेका छन् ।
युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले व्यहोरेका छन् ।
थापामगरलाई केही दिनमा काठमाडौं ल्याइने प्रसाईको सचिवालयले जनाएको छ ।
रोजगारीको सिलसिलामा युएईमा दुर्घटनामा घाइते भई कोमा पुगि दुबईमा अलपत्र अवस्थामा रहेकी थापा मगरलाई नेपाल फर्काउन आर्थिक समस्या भएको जानकारी प्राप्त भएपछि प्रसाईले सहयोग गरेका हुन् । पीडित थापा मगरलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले जानकारी द्रिएका छन् ।
बि एन्ड सी हस्पिटलका जन सम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार सामुदायिक उत्तरदायित्व अन्तर्गत व्यावसायी प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा बिदेशमा पीडित नेपालीहरुको दुस्खमा सहजीकरण गरेको जानकारी दिए । गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिम सहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल ल्याइने छ ।
पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्त्वपूर्ण सहयोग गर्ने मनकारी व्याक्तित्व दुर्गा प्रसाईलाई नेपाल सरकारले गर्न नसकेको काम सप्पन्न गरिदिएकोमा आभार व्यक्त गरेका छन् ।