काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसका लागि बन्चरोको बिँड बनेको टिप्पणी गरेका छन् । शनिबार विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिड बनेको बताए ।
ओलीले भने ‘कांग्रेसको बिड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँड कस्ता छन् के के नामका छन् ?’
उनले रुख ढाल्ने बन्चरोको बिँड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा पनि सुनाए । ‘बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन् । अरु रुखले सोधे ‘आखिर ढल्नु त छदैँछ, मर्नु त छदैछ,‘कसैले काट्यो ढल्नुपर्यो भनेर किन आशु खसालेको ?’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने वञ्चरोको बिड काठकै छ, त्यो चाहिँ दुखको कुरा हो ।’
ओलीले भने, ‘बञ्चरोले मात्र रुख ढाल्न सक्दै सक्दैन ।‘ कांग्रेसलाई २३ सिटमा पुर्याइदिएका थियौं लड्ने त कुरा छाडिदिऔं हेर्न पनि सकेको थिएन, तर अदालत गएर सरकार ढालिपाउँ भन्ने दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागे ।’
ओलीले माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरे । ‘माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिड हुने कि कम्युनिस्ट पार्टीमा फर्किने ?’ उनले पुनः प्रश्न गरे ।