logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु, भदौ १२ देखि १९ गतेसम्म दाबी विरोध गर्न मिल्ने

    मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु, भदौ १२ देखि १९ गतेसम्म दाबी विरोध गर्न मिल्ने

    3.4K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्‍कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरेको आयोगले जनाएको छ ।

    अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोधसमेत को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषय कार्यक्रममा समावेश गरिएको छ ।

    नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

    २०७९ मंसिर ४ गते बिहिवार निर्वाचन हुने गरी नेपाल सरकारबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन घोषणा भएपछि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य २०७९ साउन २० गतेबाट स्थगित भइसकेको पनि निर्वाचन आयोगले स्मरण गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend