काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापानबाट स्वदेश फिर्ता भएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण फलदायी भएको प्रतिक्रिया दिए । भ्रमणका क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको प्रचण्डले बताए ।
जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग मेरो समानान्तर रूपमा कुराकानी भयो । जापानमा भएका नेपालीहरू मेरो भ्रमणबाट धेरै खुशी हुनुभएको छ ।’ उनले भने । आफूले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गरे । त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको बताए ।
‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो,’ प्रचण्डले सुनाए । आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।
जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ । ‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्यो भनेको छु,’ उनले भने । माओवादी निकट प्रवासी नेपालीहरूको निम्तोमा प्रचण्ड जापान भ्रमणमा गएका थिए । उनीसँग छोरी गंगा दाहाल पनि थिइन् ।