काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरे । उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए । उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए ।
उनले सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे । उनले पार्टीका नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे । अध्यक्ष दाहालले यस्ता व्यत्तिmवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए । उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताए ।
उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे । अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए ।