logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभाको शुन्य समयः कसले के भने ?

    प्रतिनिधि सभाको शुन्य समयः कसले के भने ?

    3K
    Shares
    प्रतिनिधि सभाको शुन्य समयः कसले के भने ?

     

    काठमाडौं । सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताए । उनले सरकारले संघीय निजामति ऐन तत्काल ल्याउन माग गरे ।

    कुमारीतुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणिकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन् । उनले सत्ता गठबन्धनको अहकार युक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पु¥याउने बताइन् ।

    सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटी सच्याउनुपर्ने बताए । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गरे ।

    त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्ति भन्दापनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्नपनि माग गरे ।

    सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताए । उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईको दोहोरी चलेको देखिएको बताए । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उनको छ । उनले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताए । सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाए ।

    सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्ता स्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए ।

    त्यस्तै सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गरे । उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताए । उनले अफ्ठ्यारा कामहरु राति नै फत्ते हुने बताए । उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताए ।

    त्यस्तै सांसद धनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारी पन देखाएको बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त,विकास निर्माण अस्तव्यस्त लगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताए ।

    उनले मंसिर ४ गते भन्दा अगाडि नै सरकार छोड्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend