काठमाडौं । अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् । नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीत प्रस्तुत गर्न नेपाल आएको बताए ।
नेपालमा शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनीसहितको टोली नेपाल आएको थियो । उनले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रस्तुती दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए ।
दिवेशको एक महिनाको नेपाल बसाईमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिने बताए । उनले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्नेछन् ।
उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए ।