logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अरूण तेस्रोका फाइल अध्ययन गरेर कामका लागि अनुमति दिन्छौं: मन्त्री यादव

    अरूण तेस्रोका फाइल अध्ययन गरेर कामका लागि अनुमति दिन्छौं: मन्त्री यादव

    3.8K
    Shares
    अरूण तेस्रोका फाइल अध्ययन गरेर कामका लागि अनुमति दिन्छौं: मन्त्री यादव

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको राष्ट्रिय प्राथमिकताको आयोजना अरूण तेस्रो जलविद्युत परियोजनाबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन्।

    अरूण तेस्रो जलविद्युत परियोजनाको स्थलगत अवलोकनका क्रममा मन्त्री यादवले उक्त परियोजना निर्माण सम्पन्न गर्न आफू लागि परेको बताए।

    उनले भने, ‘अरूण तेस्रो जलविद्युत परियोजना भए देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ, उक्त परियोजना सम्पन्न गराउन हाम्रो मन्त्रालयबाट पर्ने आवश्यक सहयोग गर्न मसहित मन्त्रालय तयार छ।’

    सोही अनुगमनका क्रममा मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयमा उक्त परियोजनाका विचाराधीन फाइलका कारण काममा केही समस्या भएको गुनासोप्रति आफू गम्भीर रहेको र ती फाइलको आवश्यक अध्ययनपश्चात अनुमति दिइने प्रतिबद्धता व्यक्त गरे।

    यसैगरी, मन्त्री यादवले परियोजनाको सफलताले नेपाल र भारतको सम्बन्ध थप प्रगाढ हुनुका साथै देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुग्ने बताएका थिए।

    मन्त्री यादव, सचिव डा प्रेमनारायण कँडेल सहितको टोलीले मंगलबार उक्त परियोजनामा हालसम्म भएका कामको जानकारी लिएको थियो।

    उक्त टोलीले निर्माणस्थलमा आइरहेका समस्याका बारेमा परियोजनाका अधिकारीहरूसँग जानकारीसमेत लिएको थियो। अवलोकनका क्रममा मन्त्री यादवले थोरै समयमै परियोजनाले धेरै काम गर्न सफल भएको प्रतिक्रिया दिए।।

    एक खर्ब चार अर्ब अनुमानित लागत रहेको अरूण तेस्रो आयोजना भारतीय लगानीको सतलज विद्युत निगमले निर्माण गरिरहेको छ।

    नौसय मेगावाट क्षमताको यस जलविद्युत आयोजनाबाट उत्पादित कूल विद्युतको २१ दशमलव नौ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क उपलब्ध गराउने व्यवस्था आयोजना विकास सम्झौता (पीडिए) मा उल्लेख गरिएको छ।

    आयोजना सम्पन्न भएपछि नेपाल सरकारले आयोजनालाई प्रतिमेगावाट रु ५० लाखका हिसाबले एकमुष्ट रु चार अर्ब ५० करोड दिनुपर्ने उल्लेख गरिएको छ।

    कम्पनीले व्यावसायिक उत्पादन सुरू भएपछि दश वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउने भनिएको छ। त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्ने छ। आयोजनाका लागि आयात गरिने सिमेन्ट, रड तथा स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने व्यवस्था पीडिएमा उल्लेख गरिएको जनाइएको छ।

    पाँच वर्षमा काम सक्ने लक्ष्य लिइएको उक्त आयोजनाले विद्युत उत्पादन थालेको २५ वर्षपछि परियोजना नै नेपालको स्वामित्वमा आउने पनि सम्झौतामा उल्लेख गरिएको छ। –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend