काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकबाट महेश भट्टराईलाई हटाएको छ । भट्टराईले झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै सुन तस्करी गर्नेलाई कडाइ गरेका थिए । विमानस्थल भन्सार प्रशासकको रुपमा १० महिना काम गरेको भट्टराईले यात्रुहरुले बोकेका ५ सय किलो करिव ४ अर्ब हाराहारी मूल्य बराबरको सुुनलाई राजस्वको दायरामा ल्याएका थिए ।
विदेश गएका नेपालीले ल्याउने सुनमा कडाइ गरेको भन्दै उनको सरुवा गर्न यसअघि पटक–पटक व्यापारीहरुले सरकारसँग लबिइङ गरेका थिए । भट्टराई गत मंसिरमा विमानस्थल भन्सारको प्रमुख प्रशासकको रुपमा सरुवा भएका थिए । भट्टराईलाई अहिले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी तोकिएको छ ।
त्रिभुवन विमानस्थलमा यसअघि वीरगञ्ज भन्सार प्रमुख रहेका अरुण पोख्रेललाई पठाइएको छ । वीरगञ्ज भन्सारमा नवराज ढुंगानालाई पठाइएको छ ।