काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम प्रयोग गरेर सरकारी कागजात दुरुपयोग गरेको पाइएको भन्दै कानुनी उपचार खोज्ने बताएकी छन् । ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’नामको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा आफ्नो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको उनले बताएकी छन् ।
“मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र, यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्वजानकारी पनि थिएन,” केकी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु ।”
नर्वेमा फिल्म छायांकन गर्ने भनेर नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरिएको पाइएको छ । ‘ब्लु बर्ड एचडी’ले छायांकनका लागि नर्वे लैजाने भनिएका कलाकारमा केकीलगायत केहीको नाम रहेको बताइएको छ ।