काठमाडौं । विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत मंगलबार ७ जना विद्यार्थीसहित २ सय ४८ जना सवारी चालक कारवाहीमा परेका छन् । स्कुल क्याम्पसका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २ सय ४८ जना चालकहरूलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
आज बिहान ५ बजे देखी ८ बजे सम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा बिहानै मदिरा सेवन गरि सवारी साधन चलाउने ३ जना चालक छन् ।
नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक,बा १ ज ८१ ८१ नम्बरको माईक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो ।