काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा लिङदेनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।
आगामी निर्वाचनबाट नेपाललाई तीन दशकदेखि बन्धक बनाइराखेका दलहरूलाई मुक्त गर्नु जनतालाई आग्रह गरे । दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको भनाइ थियो। उनले भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए। ‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु । थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’ उनले भने ।
उनले जनताका विश्वासमाथि कुनै कुठारघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर आफू हिँडेको उनको भनाइ थियो। निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए। चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन्।