काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी, कानून, स्रोतसाधन, सुरक्षा व्यवस्थापनलगायतका विषयमा आयोग पदाधिकारी र राजनीतिक दलसँगको अन्तरक्रियामा उनले निर्वाचन प्रणाली महँगो नभई उम्मेदवार बेइमान भएको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन आचारसंहिताको प्रावधान सत्तामा हुँदा र नहुँदा फरक हुन्न, त्यसको बुझाइ र कार्यान्वयनमा एकै खाले अडान हुनुपर्छ ।”
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचन आचारसंहितालाई कडाइसँग पालना गर्न र निर्वाचन घोषणा भएपछि व्यापकरूपमा भइरहेको कर्मचारीको सरुवालाई रोक्न आवश्यक रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डलका सदस्य दल विशेषका प्रतिनिधि भएकाले राज्यको साधन स्रोतको दुरुपयोग नगरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउनुपर्छ भने ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले निर्वाचनलाई पवित्र र शुद्धता कायम गर्न सकेमा मात्र लोकतन्त्र फस्टाउने बताए । उनले अहिले भइरहेको खर्चिलो र भड्किलो निर्वाचनबाट हामी प्रताडित भएकाले रोक्न आवश्यक रहेको बताए ।