logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

    जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

    7.4K
    Shares
    जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

     

    टोकियो, रासस । जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ । आँधीबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ ।

    ‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ ।दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो ।

    यो आँधी आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

    “भयानक प्रकृतिको आँधीबेहरी, उच्च छाल, र व्यापक रेकर्ड वर्षाको जोखिम देखिएको छ,” जापानको मौसम विज्ञान निकायको पूर्वानुमान एकाइका प्रमुख र्युता कुरोराले सञ्चारकर्मीसँग भने।

    उनले थपे, “अधिकतम सावधानी आवश्यक छ । जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडो भन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ । यो निकै खतरनाक आँधी हो ।”

    कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबार पछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ । जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ ।

    सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो ।

    कुरोराले पत्रकारसँग भने, “हावाहुरी यति भीषण हुनेछ कि केही घरहरु ढल्न सक्छन् । बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ ।” जापानमा अहिले आँधीबेहरीको मौसम छ र एक वर्षमा लगभग २० आँधीबेहरीको सामना गर्नुपरिरहेको छ । आँधीका कारण भारी वर्षा हुने र पहिरो वा आकस्मिक बाढी आउने खतरा भएको बताएपछि प्रभावित क्षेत्रका मानिसहरू भयभित बनेका छन् ।

    सन् २०१९ मा जापानमा रग्बी विश्वकप आयोजना गर्ने क्रममा ह्यागिबिस नामक आँधीका कारण १०० भन्दा बढीको ज्यान गएको थियो । एक वर्षअघि जेबी आँधीले ओसाकाको कान्साई विमानस्थल क्षेत्रमा असर पारेको थियो । यसमा करिब १४ जनाको मृत्यु भएको थियो ।

    सन् २०१८ मा पश्चिमी जापानमा वर्षेनी आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो । जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ ।

    वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend