काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको विधेयक १५ दिनसम्म पनि प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्था अनुसार यो विधेयक ४ असोज गते मंगलबार मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने समयावधि थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।
नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ । ‘राष्ट्रपतिको कदम असंवैधानिक हो, गठबन्धनको तर्फबाट वक्तव्य आउँछ,’ माओवादी उपमहासचिव वर्षमान पुनले भनेका छन् ।