काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती चौधरीले कृषिलाई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन् । कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताएकी हुन् । विराटनगरमा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको पनि बताइन् ।
प्रदेश १ को आर्थिक विकास गर्न चीन संग पारवहन सन्धि भएर किमाथाङकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालिन सरकारले नै गरेको उनको भनाई छ । ‘किमाथाङका सडक निर्माण भएको भए १० लाख पर्यटन भित्र्याउन सकिन्थ्यो । त्यसले प्रदेश १ को आर्थिक श्रोत बढ्ने थियो ।’ चौधरीले भनिन् । चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२ वटा जिल्लाका दशगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धीत महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताइन् ।
यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशबीच तादम्यता नमिलेकै कारण असफल भएको चौधरीको भनाई छ । नामाकरण गर्ने सवालमा जातिय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका कुराहरु बढी उठेपनि प्रदेश र संघ सरकारले संवोधन गर्न नसकेको बताउँदै चौधरीले भनिन् ‘बहुमतका आधारमा भएपनि नामाकरण गरेको भए उचित हुन्थ्यो ।’
महिलालाई नेतृत्वमा पुर्याउने सवालमा अझैपनि समस्याहरु रहेको भन्दै कतिपय अवस्थामा महिला पनि आफैं अगाडी बढ्नु पर्ने जिकिर गरिन् ।